सुर्खेत – कर्णाली प्रदेशमा प्रमुख विपक्षी नेकपा एमालेले प्रदेशसभा बैठक सञ्चालन गर्न सहयोग गर्ने भएको छ । दलले कारबाही गरेका, तर सर्वोच्च अदालतको आदेशबाट पुनर्वहाली भएका चार प्रदेशसभा सदस्य विपक्षी रोष्टममा बस्नुपर्ने भन्दै सदन अवरुद्ध गर्ने चेतावनी दिएको थियो । त्यही कारण सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची समेत प्रभावित भएको थियो ।

आज मङ्गलबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले समय लिएर बोल्दै बजेट पेश गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले आफूहरुले विरोधको तरिका बदल्ने बताउनुभएको छ । आफूहरुको माग यथावत रहेको भन्दै उहाँले ‘हाम्रो माग कायमै छ, तर तरिका बदलेका छौं । नीति तथा कार्यक्रम सकेर बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले सदन सहज रुपमा अगाडि बढाउन सहयोग गर्छौं ।’