युरोकप फुटबल प्रतियोगिता अन्तर्गत राती भएको समूह ‘ई’ को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरी रोकिएको छ । सेभिल्लामा भएको खेलमा स्पेनले खेलको अधिकांश समय बलमा नियन्त्रण कायम गरे पनि स्वीडेनविरुद्ध गोल भने गर्न सकेन । सुन्दर अवसर पाउँदा पनि स्पेन गोल गर्नबाट चुक्यो । स्पेनका लागि अल्भारो मोराटाले गोल गर्ने राम्रो अवसर बनाएका थिए, तर उनको प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरिन पुग्योे । यस्तै ड्यानी ओल्मोले नजिकबाट गरेको हेडर पनि स्वीडिस गोलरक्षक पर्खाल बनिदिए । कोकेले गरेको गोलको प्रयास पनि सफल हुन सकेन ।

समूह ‘ई’ अन्तर्गत कै अर्को खेलमा भने स्लोभाकियाले पोल्याण्डलाई २–१ ले पराजित गर्दै स्पष्ट तीन अङ्क जोड्न सफल भएको छ । स्लोभाकियाले एक गोल आफुले गर्दा अर्को गोलभने पोल्याण्डबाट उपहार पायो । पोल्याण्डले एक गोल फर्कायो भने एक खेलाडी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।