चीनले आफ्ना सैन्य गतिविधिबाट गम्भीर चुनौती प्रस्तुत गरेको भनि नेटोका नेताहरुले उसलाई चेतावनी दिएका छन् । चिनिया सैन्य गतिविधिलाई लिएर ‘प्रणालीगत चुनौती’ भन्दै ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनप्रति तिब्र असन्तुष्टि प्रकट गरेका छन् ।

चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकीकरणका सम्बन्धमा अपारदर्शी रहेको नेटोका नेताहरुको बुझाइ रहेको छ । चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप पनि उनीहरुले लगाएका छन् । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरुबिचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो ।

नेटोका जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै चेतावनी दिएका छन् । तर नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेको पनि उनले बताएका छन् । कम्युनिस्ट शासनको बिस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना गरिएको थियोे । पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बिचमै संगठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद उत्पन्न हुन थालेको छ ।

डोनाल्ड ट्रम्प जब अमेरिकी राष्ट्रपति बनेर अमेरिकाको नेतृत्वमा त्यसपछि नेटोमा मतभेत उत्पन्न भएकोे थियो । निर्वमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले अरुको सुरक्षाका लागि ठूलो खर्च गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिंदै यसमा सबैले समान हिस्सा बेहोर्नु पर्ने बताएका थिए ।

गत जनवरीदेखि राष्ट्रपति जो बाइडेनले अमेरिकाको नेतृत्व सम्हाले पछि नेटोको पहिलो बैठक बसेको हो । राष्ट्रपति बाइडेनले ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूर्ण शक्तिका साथ फर्किएको बताएका छन् । अमेरिकी ‘स्वार्थ’ का लागि नेटो रणनीतिक रुपमा महत्वपूर्ण रहेको पनि अमेरिकी राष्ट्रपति बाइडेनले भने । यसैक्रममा बाइडेनले भोलि बुधबार जेनेभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।