काठमाडौं – नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइने भएको छ ।

तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

महामारीका कारण बैंक तथा वित्तीय संस्थाले आलोपालो र कोटा प्रणालीअनुसार शाखा खोल्दै आएका थिए । यसरी आलोपालोअनुसार शाखा खोल्दा सेवाग्राहीको अत्याधिक भिडभाड भएको र यसले कोरोना सङ्क्रमणको जोखिम झनै बढेको भन्दै आलोचना भइरहेको छ ।