काठमाडौं – सेयर कारोबारमा साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक ४२ दशमलव ७२ अङ्कले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत आइतबार नेप्से परिसूचक अधिकतम २९८३ विन्दुमा पुगेको थियो ।

आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १० दशमलव ६० अङ्कले बढेर ५५० दशमलव ०१ विन्दुमा पुगेको छ । यस दिन कुल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर एक लाख ७५ हजार ४११ पटक किनबेच हुँदा कुल १८ अर्ब ८८ करोड ४० लाख माथिको कारोबार भएको छ ।

यद्यपि यो हिजो आइतबारको भन्दा डेढ अर्ब कम कारोबार हो । गत आइतबार एकैदिन अधिकतम १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज बैंकिङ् होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानीका समूहहरु धनात्मक भएका छन् भने व्यापार, विकास बैंक, हाइड्रो, माइक्रो फाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु ऋणात्मक भएका छन् ।