तस्बिर ः रोयटर्स, बेन्जमिन नेतन्याहू (बायाँ), नाफ्ताली बेनेट (दायाँ)
इजरायल प्रधानमन्त्री बेन्जमिन नेतन्याहू सत्ताच्यूत भएसँगै उनको १२ वर्षे शासनकालको अन्त्य भएको छ । विपक्षी गठबन्धनले संसद्मा नयाँ सरकार बनाउने पक्षमा मत पाएपछि विगत १२ वर्षदेखि प्रधानमन्त्री रहँदै आएका नेतन्याहू सत्ताच्यूत हुन पुगेका हुन् ।

इजरायली नयाँ प्रधानमन्त्रीको रुपमा राइट–विङ्ग राष्ट्रवादी नेता नाफ्ताली बेनेट नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्रीकोे गठबन्धनले संसदमा ६०–५९ को बहुमत पाएको हो । भरखरै प्रधानमन्त्री बनेका बेनेटको कार्यकाल सन् २०२३ को सेप्टेम्बरसम्म रहने छ । नाफ्ताली बेनेट न्यू राइट पार्टीका नेता हुन् । केही दिन अघिमात्र बनेको गठबन्धन दलका बीच भएको सहमति अनुसार सन् २०२३ को सेप्टेम्बरपछि मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिड प्रधानमन्त्री बन्ने छन् ।

सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका नेतन्याहू राइट–विङ्ग पार्टी लिकुडको नेता रहने छन् । उनी संसद्मा प्रमुख विपक्षी दलको नेताका रुपमा रहने छन् । लेपिड, बेनेट र अरब इस्लामिस्ट राम पार्टीका नेता मन्सुर अब्बासबिच भएको सहमतिपछि नेतन्याहूको सरकार ढलेको हो । घोटालाको मुद्दा खेपिरहेका नेता नेतन्याहूले गएको मार्चमा भएको आम निर्वाचनमा बहुमत ल्याउन नसक्दा गठबन्धनले उनलाई सत्ताबाट हटाएको हो । पछिल्लो दुई वर्षमा इजरायलमा मार्चमा चौथोपटक चुनाव भएको थियो ।