ब्राजिल– ब्राजिलमा सुरुभएको कोपा अमेरिका फुटबलमा आयोजक देश ब्राजिलले आफ्नो पहिलो सुरुवाती खेलबाट सुखद् नतिजा निकालेको छ ।
समूह ‘बी’ अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा आयोजक राष्ट्र ब्राजिलले भेनेजुएलामाथि ३–० पछिपार्दै फराकिलो जित निकालेको हो । खेलको एक दिन अघिमात्रै टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि समस्यामा रहेको भेनेजुएला ब्राजिलीयन टिमको सामु कमजोर नै देखियो थियो ।

घरेलु टोली ब्राजिलले २३ औं मिनेटमा मार्क्वीन्होसले गरेको गोलको मद्दतबाट सुरुवाति अग्रता लिएको थियो भने खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टीलाई ब्राजिलियन स्टाइकर नेइमारले सदुपयोग गर्दै आफ्नो टिमका निम्ति अग्रता दोब्बर पारे । त्यसै गरी नेयमार कै पासमा खेलको अन्तिम समय अर्थात् ८९ औं मिनेटमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गर्दा ब्राजिल ३–० ले विजयी हुन पुग्यो ।

साबिक विजेता ब्राजिलले उपाधि रक्षाको यात्रा सहज जितका साथ सुरु गरेको हो । नौपटक कोपा अमेरिका जितेको ब्राजिलले १२ वर्षपछि सन् २०१९ मा उपाधि जितेको थियो । समूह ‘बी’ मा रहेको ब्राजिलले सोही समूका कोलम्बिया, इक्वेडर र पेरुसँग मैदानमा भिड्ने छ ।