काठमाडौं– कोरोना भाइरस सङ्क्रमणका कारण मानिसमा अल्जाइमर जस्ता मानसिक रोग ल्याउन सक्ने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन् । डिमेन्सिया जस्तो सिकाइसम्बन्धी समस्या पनि बढेर जटिल समस्या हुनसक्ने एउटा कारण कोरोना भाइरस पनि हुन सक्ने ओहियोस्थित क्लिभल्यान्डमा हालै कोभिडसम्बन्धी अनुसन्धानकर्ताहरूले यस्तो जनाएका हुन् । उनीहरूले गरेको यो अनुसन्धान यो साता अल्जाइमर्स रिसर्च एन्ड थेरापी नामक जरनलमा प्रकाशित भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका बिरामी र अल्जाइमरका बिरामी दुवैको तथ्याङ्क सङ्कलन गर्न उनीहरूले कृत्रिम बौद्धिकताको प्रयोग गरेका थिए ।

स्वाद , बास्ना गुम्ने कोरोनाभाइरसका रोगीहरूको लक्षणको सम्बन्ध दिमागसँग जोडिएर हुने जटिलताको अध्ययन गर्दा उनीहरूले यस्तो नतिजा फेला पारेको उल्लेख गरेका छन् । जीनका तत्वहरूको विश्लेषणले नयाँ भाइरसले दिमागका तन्तु र सेललाई सङक्रमण गर्न सक्ने दुवै किसिमका बिरामीमा देखिएको छ । उनीहरू बिचको समानताको मापनका लागि यो कृत्रिम बौद्धिकता प्रविधिको प्रयोग गरिएको थियो ।
अल्जाइमरका बिरामी प्राणघाती भाइरससँग बचाउ गर्न बढी असहाय हुन सक्ने देखियो । अल्जाइमर रोग लागेपछि मानिसले हरेक कुरा विर्सने भएको हुँदा नेपालीमा अल्जाइमरलाई विसर्ने रोग भनेर पनि भन्ने गरिन्छ । विश्वमा अल्जाइमरका बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । हालसम्म यो रोगको प्रभावकारी औषधि बन्न सकेको छैन ।