युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० को फराकिलो जित दर्ता गरेको होे । बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक गोल गरे । लुकाकुले १० औं मिनेटमा गोल गर्दै बेल्जियमलाई विजयी यात्राको निम्ति अग्रता दिलाएका हुन् । उनले सो गोल डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनप्रति समर्पित गरे ।

फिनल्याण्डसँगको खेलमा मैदानमै बेहोस भएर लडेका एरिक्सनको हाल उपचार जारी छ । उनको स्वास्थ्य अवस्था स्थिर तथा सुधारोन्मुख रहेको जनाइएको छ । इन्टर मिलानमा लुकाकु र एरिक्सन साथी खेलाडी हुन् । एरिक्सनको घटनाले आफू स्तब्ध भएको र शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेको लुकाकुले बताएका छन् ।

खेलको ३४ औं मिनेटमा मनुयरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । लुकाकुले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि टिम ३–० ले विजयी भएको हो ।