कास्की – गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्रीको रुपमा कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री पोखरेललाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नै सरकारी निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

प्रदेश प्रमुख पौडेलले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीसँगै नेपाली काङ्ग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र) की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उक्त सपथग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

तस्वीरः राधिका कँडेल, रासस