मकवानपुर – नेपाली काङग्रेस बागमती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ । सांसद वैद्यले हिजो शुक्रबार प्रदेशसभामा प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोडसे बन्न तयार रहेको बताउँदै विवादास्पत अभिव्यक्ति दिएपछि चौतर्फिक विरोध भएको थियो । आज वैद्यले प्रदेशसभामा आत्मालोचनासहित आफ्नो त्यो अभिव्यक्ति आवेगमा आएको भन्दै फिर्ता लिनु भएको हो ।

सांसद नरोत्तम वैद्यले ‘असाध्यै आवेगमा र भावावेशमा आएर मैले आफ्ना कुरा पोख्ने सिलसिलामा आवश्यकता भन्दा बढि नै स्वतन्त्रताको उपयोग गरेछु । यो मैले फिल गरें भन्दै काङ्ग्रेस सांसद वैद्यले ‘मैले संसदको रोष्टममा उभिएर आफ्नो प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री ज्यूप्रति लक्षित गर्दै मबाट प्रयोग भएका शब्दहरु आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको र मैले आफैले पनि आफूले बोलेको कुरा कुटनीति र संसदीय मर्यादा विपरीत रहेको महसुस गर्दै, शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै हिंसाबाट शान्ति पूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन माननीय सभामुखसमक्ष हार्दिक अनुरोध गर्दछु’ भन्दै आत्मालोचना गर्नुभएको छ ।

काङ्ग्रेस सांसद वैद्यले आफ्ना कुरा पढेर सुनाउँदै हिजो प्रदेशसभा बैठकमा आफुले प्रधानमन्त्री ओली विरुद्ध बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन समेत अनुरोध गर्नुभएको छ । यसअघि कांग्रेसले बागमती प्रदेशसभाको बैठकमा विवादास्पद अभिव्यक्ति दिने सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइएको जनाएको थियो । सांसद वैद्यको अभिव्यक्तिलाई लिएर सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाउँदै फौजदारी अभियोग लगाउने योग्य रहेको बताएको थियो ।

हिजो शुक्रबार बागमती प्रदेशसभा बैठकमा सांसद वैद्यले आफु प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोडसे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा बोल्नेक्रममा त्यस्तो अभिव्यक्ति दिनुभएको थियो । बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको भन्दै ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन् । त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु’ भन्ने हत्यालक्षित अभिव्यक्ति दिनुभएको थियो ।
भारतमा तात्कालिन समयमा नाथुराम गोडसे भन्ने नाम गरेका व्यक्रिे महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।