लण्डन– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसको महामारीले गर्दा विश्व अर्थतन्त्र सहित अन्य सबै क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई थप बलियो बनाएर जानु पर्नेमा जोड दिनु भएको छ । प्रधानमन्त्री जोन्सनले हिजो ११ तारिकदेखि सुरु भएको विकसित मुलुकहरुको साझा संगठन जी–७ को सम्मेलनका क्रममा बोल्दै उक्त धारणाा व्यक्त गर्नुभएको हो । जोन्सनले सबैमिले सहकार्य गरेर जान आग्रह गर्नुभएको छ । सन् २००८ को आर्थिक मन्दीमा भएको गल्तीको पाठ सिकेर असमानता अन्त्यका लागि प्रयास गर्नु पर्नेमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनको आग्रह थियो ।

जी–७ को सम्मेलनमा अर्थतन्त्रसँगै कोरोना भाइरसविरुद्धको खोपको वितरणको विषयले पनि प्राथमिकता पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सम्मेलनपछि जी–७ का नेताहरु बेलायती महारानी एलिजाबेथ द्वितियसँग सामूहिक तस्बिर खिचाएका थिए । त्यसक्रममा महारानीले ‘आर यू सपोज टू बी लुकिङ्ग एज इफ युआर इन्जोइङ्ग योरसेल्फ?’ भन्दा विश्वका नेताहरु हाँसेका थिए । बेलायती प्रधानमन्त्री जोन्सनले सहमतिको जवाफ दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा तथा युरोपियन युनियनका नेताहरु भोली १३ तारिख सम्महुने सम्मेलनमा सहभागी भएका छन् ।