कास्की – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री गुरुङ्ले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ । नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।

गण्डकी प्रदेशमा काङ्ग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएसँगै काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो । बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न सकेन ।

मुख्यमन्त्रीले विश्वासको मत लिँदा उहाँको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ । यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविधानको धारा १६८(५) अनुसारको मुख्यमन्त्री बन्न सक्ने बाटो खुलेको हो ।