काठमाडौं – संस्कृतविद् सत्यमोहन जोशी बिरामी भएर छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ । जोशीलाई बुधबार अस्पताल लगिएको हो । अस्पतालका चिफ अपरेटिङ अफिसरले जोशीलाई निमोनिया देखिएको बताउनुभएको छ।

जोशीको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । किष्ट अस्पतालले यसअघिदेखि नै जोशीको स्वास्थ्य परीक्षण गर्दै आएको छ । ‘हरेक महिना घरमै गएर उहाँको स्वास्थ्य परीक्षण गर्ने गरेका थियौं । यसपटक छातीमा समस्या देखिएकाले अस्पताल ल्याएका हौं,’ पाठकले भने, ‘अस्पतालमा भर्ना गरेर उहाँलाई क्याबिन डिलक्समा राखेर उपचार गरिएको छ ।’