काठमाडौं – प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरुलाई देखाएर विकास बजेट माग गर्दा एमालेको केपी ओली गुटमा जानु पर्ने अवस्था आएको बागमती प्रदेश संसदीय दलको नेता शालिकराम जम्मकट्टेलको भनाइ छ । माओवादीले जितेको आधारमा स्थानीय तहमा पठाइएको २ करोड ७ लाख रुपैयाँ किन रोकियो ? उहाँले प्रश्न गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम साहित्यकारको शब्दजाल जस्तै रहेको बताउनुभयो । शुक्रबार प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको प्रदेशसभा बैठकमा उहाँले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा किसान, मजदुर, उद्योगी, व्यवसायीहरुको समस्याहरुलाई समेटेको छ तर प्रदेश सरकार चाँही खोज्नु पर्ने अवस्था रहेको बताउनु भएको हो ।

हाल देशमा सङ्घीय सरकारले गरेको विधि विधान र संविधान विपरीत गरेको कामको प्रदेश सरकारले विरोध गर्नुपर्ने नेता जम्मकट्टेलको धारणा छ । प्रदेश सरकारले संविधानको रक्षाका लागि सङ्घीय सरकारले गरेको गलत कामको विरोध गरेर सङ्घीय सरकारको हस्तक्षेप नभएको नीति तथा कार्यक्रम आउनु पर्ने बताउनुभयो । प्रदेश सरकारले बहुवर्षीय योजनाको सिलिङमा पनि पक्षपात गरेको संसदीय दलको नेता जम्मकट्टेलको आरोप छ । उहाँले बिना आधारमा सम्बन्धित निर्वाचन क्षेत्रका सांसदलाई जानकारी नै नगराई प्रदेश सरकारले बहुवर्षीय योजनाको सिलिङ पठाएको बताउनुभयो ।