गण्डकी – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नु भएकोमा उहाँले बहुमत प्राप्त गर्न सक्नुभएन । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त हुनुभएको छ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ ।
गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिने प्रयास गर्नु भएको थियो । मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र परेको थियो भने विपक्षमा ३० मत परेको थियो । सभामुखसहित ६० सदस्य रहेको प्रदेशसभाको बैठकमा बिहीबार कुल ५८ जना उपस्थित थिए । मतदानमा ५७ जनाले भाग लिए । जनमोर्चाका कृष्ण थापा मतदान नगरी तटस्थ हुनुभयो भने दीपक मनाङ्गे अनुपस्थित रहनु भएको थियो ।

विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ । यद्यपि विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने जिकिर गर्दै आएको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताउनु भएको थियो । सङ्घीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेका बेला मुख्यमन्त्री गुरुङले प्रदेशसभाको विश्वासको मत गुमाउनु भयो । उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र यो तथ्य एक महिनाअघि प्रमाणित भएको दाबी समेत गर्नुभयो ।