कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा गरिने भाकलका आधारमा प्रदेशहरूमा सांसदको बलि चढाउने गरिएको बताउनु भएको छ । प्रदेशसभामा विश्वासको प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले कुन प्रदेशमा कसको बलि चढाउने भनेर काठमाडौंमा भाकल हुने र प्रदेशमा सोही अनुसारको बलि चढाउने गरिएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशमा त्यस प्रकारको नियति नदेखियोस् भन्ने कामना पनि गर्नुभयो । मुख्यमन्त्री गुरुङले भाषण गरेको भरमा व्यवस्था विघटन नहुने दावी समेत गर्नुभयो । उहाँले, ‘त्यस्तो कुरा गर्ने हो भने परिवर्तन नरुचाएको शक्तिलाई बल पुग्छ, जनतामा निराश आउन सक्छ ।’ संविधानका प्रस्तावनामा भएका विषयहरु कसैले चाहेर पनि हटाउन वा खोस्न नसक्ने प्रस्ट पार्नुभएको छ ।

उहाँले प्रदेशसभालाई अरुले जे भन्यो त्यही बोल्ने ‘मैना चरीको बथान’ जस्तो बनाउन नहुने पनि जिकिर गर्नुभएको छ । ‘हाम्रो कृयाकलापका कारण, अभिव्यक्त गर्ने विषयका कारण प्रदेशसभालाई मैनाचरीको बथानजस्तो बनाइरहेका छौं,’ ‘हामीबीच तिक्तता जति बढ्दैछ, हामी मैना चरीजस्तै हुन गइरहेका छौं ।’

नेपालको राजनीतिक इतिहासमा हरेक एक÷डेढ दशकमा ठुला राजनीतिक घटना एवं परिवर्तन भएको उल्लेख गर्दै गुरुङ्ले जनताको बलमा स्थापित भएको लोकतान्त्रिक व्यवस्थालाई स्थिर हुन नदिन अनेक चलखेल हुने गरेको बताउनुभयो । २०१५ सालमा काङ्ग्रेस ६९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर दुई तिहाईको सरकार बनाएको पार्टीमा पनि वीपी कोइरालाको नेतृत्व विरुद्ध सुवर्ण शमशेरहरुले निर्वाह गरेको भूमिकाले ठुलो दुर्घटना निम्त्याएको स्मरण गर्नुभयो ।

बहुदलीय व्यवस्था स्थापित भइसकेपछि पहिलो जननिर्वाचित सरकार आफ्नै दलमा सुविधा जनक बहुमत हुँदाहुँदै पनि सत्तारुढ दलकै सांसद विभाजित भएर आफ्नो पार्टीको नेतृत्वको सरकार ढालेको मुख्यमन्त्री गुरुङले स्मरण गराउनुभयो । उहाँले २०७४ सालको निर्वाचनपछि वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमतसहित सरकार गठन गरे पनि तीन वर्ष नहुँदै त्यसलाई अस्थिर बनाउन अदृष्य शक्तिले चलखेल गरेको बताउनुभयो । प्रदेशमा राजनीतिक स्थिरता कायम राख्नका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने उहाँको भनाइ थियो ।