प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्नु भएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्नु भएको हो । सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मूल नारासहित आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना तयार पारिएको छ ।

गुरुयोजनाअन्तर्गत अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निमार्ण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई दुई सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गरिने सरकारको तयारी छ । गरिब तथा विपन्न वर्गको उपचारका लागि प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने प्रदेशप्रमुख प्यासीद्वारा पेस गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, प्रदेशद्वारा सञ्चालित कोसी अस्पतालअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रणपश्चात प्रादेशिक प्रसूति तथा स्त्री रोग अस्पतालका रूपमा रूपान्तरण गरिने प्रदेश सरकारको योजना छ । सबै माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षकशिक्षिकाद्वारा किशोरकिशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौनशिक्षा प्रदान गर्न स्थानीय तहहरूसँग समन्वय गर्ने सरकारको वार्षिक नीतिमा समावेश गरिएको छ । त्यसैगरी, सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयमा प्रदान गरिने दिवाखाजा तथा पोषण सामग्रीको स्तरीयता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मापदण्डमा आधारित उक्त सामग्रीको आपूर्ति व्यवस्थापनसमेत गर्ने जनाएको छ ।