सुर्खेत – भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा प्रदेशसभा बैठकमा उपस्थित नहुने शर्तमा कर्णाली प्रदेश सभा बैठक शुरु भएको छ । तीन दिनदेखि अवरुद्ध प्रदेशसभाको बैठक बिहीबार सर्वदलीय सहमतिपछि सञ्चालन भएको हो । कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सरकार पक्ष र नेकपा एमालेबीच मन्त्री थापालाई बैठकमा सहभागी नगराउने सहमति भएको हो ।

भौतिक पूर्वाधार मन्त्री थापामाथिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र यही जेठ ३० मा पेशीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थित नगराउने र बैठक नियमित सञ्चालन गर्ने दुई बुँदे सहमति भएको बुढाथोकीले बताउनुभएको छ । प्रदेशसभाको आठौं अधिवेशनमा मन्त्री थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको थियो ।