काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचकमा १ दशमलव ८० अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १ दशमलव ८० अङ्कले घटेर २ हजार ९ सय ४४ दशमलव ७८ विन्दुमा झरेको हो । यो दोस्रो दिनको लगातारको गिरावट हो ।

गत मङ्गलबार एकै दिन ५३ अङ्कले वृद्धि भएको बजारमा गत बुधबार १३ दशमलव ५६ अङ्कको गिरावट आएको थियो । त्यसो त आज नेप्सेमा सामान्य गिरावट आएता पनि यता क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढेको छ । नेप्सेका अनुसार यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ५९ अङ्कले बढेर ५ सय २७ दशमलव ८७ विन्दुमा पुगेको हो ।

आज कुल २ सय २० कम्पनीका ३ करोड ६ लाख ६ हजार २ हजार ६ सय ४४ कित्ता सेयर १ लाख ५५ हजार ६ सय ९० पटक किनबेच हुँदा कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रुपैयाँको कारोबार भएको छ । यस दिन विकास बैंक समूह धनात्मक हुँदा वाणिज्य बैंकहरु ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, व्यापार, जीवन बीमा, निर्जीवन बीमा लगायत अन्य समूह ऋणात्मक रहेका छन् ।