काठमाडौं– चीन सरकारले आफ्ना नागरिक दम्पतीलाई तीनसम्म सन्तान जन्माउन अनुमति दिने भएको छ । चीनमा गरिएको जनगणनाले जन्म दरमा निकैनै कमी देखिएको भन्दै दम्पतीलाई तीन जनासम्म सन्तान जन्माउन अनुमति दिने तयारी गरेको हो ।


आफ्नो दशकौं पुरानो नीतिमा परिवर्तन ल्याउँदै एक सन्तान मात्रै जन्माउने पाउने ब्यवस्थालाई परिवर्तन गर्दै सन् २०१६ मा चीनले दुई सन्तान जन्माउन पाउने अनुमति दिएको थियो । तर उक्त नीति ल्याइएपनि जनसङ्ख्या बृद्धिदर घट्दै गएको देखेपछि चीनले तीन सन्तान पाउने अधिकार अवलम्बन गर्न लागेको हो । सन् १९७८ देखि २०२० सम्म चीनमा प्रति हजार जन्मदर मात्र सातदेखि आठको बीचमा रहेको छ ।


चीनले जनसङख्या बृद्धि दरलाई नियन्त्रण गर्न सन् १९७९ मा पहिलो पटक एक सन्तान नीति अपनाएको थियो । उक्त नीतिको बिरुद्ध दुई वा बढी सन्तान जन्माउने दम्पत्तीलाई जरिवाना तिर्नुपर्ने, रोजगारी गुमाउनुपर्ने वा गर्भपतन गराउनुपर्ने ब्यवस्था गरिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाए अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले पोलिटब्यूरो बैठकमा उक्त प्रस्ताब स्वीकृत गर्नुभएको हो ।

तस्विर–इपीए