काठमाडौं – नेपालको बीमा बजार फराकिलो भएसँगै बीमा समितिले हिमालयन रि–इन्स्यारेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । योसँगै नेपालमा पुनर्बीमा कम्पनीको सङ्ख्या दुई पुगेको छ । बीमा नियामक संस्था ललितपुरको कुपण्डोलस्थित बीमा समितिले प्रस्तावित हिमालयन रि–इन्स्यारेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति (लाइसेन्स) दिने निर्णय गरेको हो ।

पुनर्बीमा कम्पनीको अनुमति लिनका लागि हिमालयनसहित पाँच कम्पनीहरु बीमा समितिमा निवेदन दिएका थिए । अन्य चार कम्पनीले पुनर्बीमा व्यवसाय गर्ने कम्पनीको अनुमति पाउन सकेनन् । ‘हिमालयन रि–इन्स्यारेन्सलाई पुनर्बीमा गर्ने अनुमति दिने निर्णय भएको छ । हिमालयनको प्रक्रिया शुरु हुन्छ । अरु कम्पनीले रि–इन्स्योरेन्सको अनुमति पाएनन्’ बीमा समितिका एक अधिकारीले जानकारी दिए ।

हालसम्म देशमा एउटामात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ, त्यो हो नेपाल पुनर्बीमा कम्पनी । यो बाहेर एउटा कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिन भन्दै बीमा समितिले आवेदन माग गरेको थियो । हिमालयन रि–इन्स्योरन्स लगायतका काठमाडौं रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स र प्रडेन्सियल रि–इन्स्यारेन्सले पनि लाइसेन्सका लागि आवेदन दिएका थिए । व्यवसायी सुलभ अग्रवालले हिमालयन रि–इन्स्योरेन्स कम्पनी दर्ताका लागि निवेदन दिएका थिए ।