काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले लिक्विड ट्याङ्क सञ्चालनमा आएपछि पहिले जस्तो अक्सिजनको समस्या नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो–‘लिक्विड ट्याङ्क सञ्चालनमा आएपछि हामीलाई बाहिरबाट पनि अक्सिजन ल्याउन पर्दैन । अहिले दैनिक सय अक्सिजन सिलिण्डर ल्याइएकोमा ट्याङ्क आएपछि त्यो पनि ल्याउन पर्दैन’,।
निर्देशक काफ्लेले अहिले ट्याङ्कलाई सञ्चालनमा ल्याउनका लागि प्राविधिक काम चलिरहेको भन्दै दुई तीन दिनमै सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । टिचिङमा ट्याङ्क जडान गर्ने जिम्मा शंकर ग्यास उद्योगले पाएको छ । उद्योगका सञ्चालक शंकर अग्रवालले भोलि वा पर्सीसम्ममा टिचिङमा लिक्विड अक्सिजन भरिदिने बताउनु भएको छ । ‘ट्याङ्क जोडिसकिएको छ । अब भोलि वा पर्सी भित्रमा १६ हजार लिटर लिक्विड अक्सिजन भरिदिन्छौं’, अग्रवालले भने । लिक्विड अक्सिजन ट्याङ्क धेरै अघिदेखि जडान गर्ने भनिए पनि लिक्विड अक्सिजन बोक्ने ट्याङ्कर अभाव हुँदा ट्याङ्क जडान गर्न सकिएको थिएन । साथै ठेक्का लगायत अन्य कागजी प्रकृयामा समेत अलमल हुँदा ट्याङ्क जडान गर्न ढिला भएको हो ।
अन्ततः लिक्विड अक्सिजन ट्याङ्क सञ्चालनमा आउने भएसँगै अस्पतालको अक्सिजन अभावको समस्या हल हुने भएको हो । यसअघि भने अक्सिजनको चरम अभाव हुँदा अस्पतालले बिरामीलाई चाहिए अनुसार अक्सिजन पु¥याउन सकेको थिएन । त्यस्तो अवस्थामा कम अक्सिजन चाहिने बिरामीलाई थोरै अक्सिजन दिई धेरै चाहिने बिरामीलाई अक्सिजन दिएर उपचार गरिएको निर्देशक डा. काफ्ले बताउनुहुन्छ । झण्डै महिनादिन अक्सिजनको अभावसँग जुधेको अस्पतालले अब लिक्विड अक्सिजन ट्याङ्क आएसँगै यो समस्याबाट पार पाउन लागेको हो । तर पछिल्लो समय बिरामीको चाप समेत घटेकाले अक्सिजन समस्या कम भएको डा. काफ्ले बताउनुहुन्छ ।
‘अहिले बिरामीको संख्या पनि कम छ । पहिले झण्डै चार सय जना बिरामी रहेकोमा अहिले दुई सय बढी मात्र छन् । त्यसले गर्दा पनि अक्सिजनको समस्या धेरै सहज भएको छ,’ उहाँले भन्नुभयो । बिरामीको चाप घटेकै कारण चीनबाट सहयोगमा आएको ५३ वटा लिक्विड अक्सिजन ट्याङ्कमध्ये १० वटा मात्र खर्च भएको डा. काफ्लेले बताउनु भएको छ । पछिल्लो समय अस्पतालमा कोरोना संक्रमितको चाप घटेको छ। मध्यम समस्या भएका बिरामीहरूको चाप घटेको अस्पतालहरूले जनाएका छन्। यद्यपि सिकिस्त अवस्थाका बिरामीको संख्यामा भने कमी नआएको चिकित्सकहरूको भनाइ छ ।