काठमाडौं –चीन सरकारले नेपाललाई अनुदानस्वरुप पठाउन लागेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान आज सोमबार साँझ बेइजिङ जाँदैछ र भोली मङ्गलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले जानकारी दिनुभएको छ । यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गरिने पोखरेलले जानकारी दिनुभएको हो ।
यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने उहाँको भनाइ छ । यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो । तर उनीहरुले दोस्रो डोज खोप नपाउँदै नयाँ उमेर समूहका लागि खोप अभियान सुरु गर्न लागिएको हो । पहिलो डोज खोप जुन लगाएको छ, दोस्रोमा पनि त्यही खोप लगाउनुपर्ने हुनाले चीनबाट ल्याएको खोप विगतमा खोप लगाइसकेका जेष्ठ नागरिकले लगाउन नमिल्ने मन्त्रालयको भनाइ छ ।
करिब साढे १३ जना ज्येष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्याङ्क छ । उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी भएको छ । ‘एस्टाजेनिका खोप जुन देशबाट आएपनि सबैभन्दा पहिले हामी पहिलो डोज लगाएकालाई प्राथमिकता दिनेछौं’ उनले भने, ‘अबको १५ दिनमा एस्ट्राजेनेकाको खोप नेपाल आउनेमा आशावादी छौं ।’