चितवन – चितवनस्थित भरतपुर महानगरपालिकको वडा नं. १० मा पर्ने स्यालीबजारमा ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन् ।

घाइते दुवै आमा छोराको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता थापाका अनुसार आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ ।

खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा समेत आगलागी भएको थियो । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस