काठमाडौं– सरकारले ताप्लेजुङ्गस्थित सुकेटार विमानस्थलको नामाकरण गर्ने विषयमा एमालेका नेता तथा निवर्तमान् सांसद योगश भट्टराईले असन्तुष्टि जनाउनु भएको छ । सरकारले दिवङ्गत एमाले नेता तथा तात्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नाममा उक्त विमानस्थलको नामकरण गर्ने घोषणा गरेपछि एमाले नेता भट्टराईले असन्तुष्टि व्यवक्त गर्नुभएको हो ।

शनिबार बजेट मार्फत पर्यटन मन्त्री रहँदा विमान दुर्घटनामा परि निधन भएका अधिकारीको नाममा सुकेटार विमानस्थलको नामाकरण गर्ने घोषणा सरकारले गरेको थियो । तर त्यसप्रति ताप्लेजुङ्गबाट निर्वाचित भएका नेता भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत आपत्ति जनाउनु भएको छ ।

पूर्वमन्त्री पर्यटनमन्त्री समेत रहेका भट्टराईले्, ‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरि सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागिता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भने मात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ’– भन्नुभएको छ ।

२०७५ फागुन १५ गते ताप्लेजुङ्गको पाथीभरा नजिकै एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा एमालेका युवा नेता तथा तत्कालीन पर्यटन मन्त्री अधिकारी सहित पर्यटन व्यवसायी आङ्ग छिरिङ् शेर्पा र अन्या सातजनाको ज्यान गएको थियो । तात्कालिन मन्त्री अधिकारीको निधनपछि पर्यटन मन्त्रीको जिम्मा नेता योगेश भट्टराईले सम्हाल्नु भएको थियो । तर पुष ५ गते प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि असन्तुष्टी जनाउँदै योगश भट्टराईले राजीनामा दिनु भएको थियो ।