काठमाडौं– प्रदेश राजधानी हेटौँडासहित मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका कोभिड–१९ बिरामी उपचारका लागि स्थापित सबै आइसोलेशन सेन्टरलाई आवश्यक पर्ने मासु र अण्डा पुनः मकवानपुर कुखुरा व्यवसायी सङ्घले उपलब्ध गराउन थालेको छ । सङ्घले मकवानपुरका सबै आइसोलेशन सेन्टरका सङ्क्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन थालेको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोकुलनाथ पौडेलले बताएका छन् । 
पहिलो चरणको कोरोना सङ्क्रमणको बेलामा पनि सबै आइसोलेशनमा एक महिनासम्म दैनिक अण्डा र हप्तामा दुई दिन मासु उपलब्ध गराएको सङ्घले दोस्रो चरणको सङ्क्रमणमा पनि सो कार्यलाई निरन्तरता दिएको हो । सङ्क्रमितलाई पोषणतत्व परिपूर्तिका लागि प्रतिव्यक्ति दैनिक दुई  अण्डा र हरेक हप्ताको शनिबार र बुधबार मासु  उपलब्ध गराउने छ । मासु र अण्डा एकैचोटी ल्याउँदा बिग्रने भएकाले आवश्यकतानुसार उपलब्ध गराउने सङ्घले जनाएको छ ।

सङ्क्रमितको घरघरमा जनप्रतिनिधि
हेटौँडाका विभिन्न क्षेत्रमा होमआइसोलेशनमा बस्दै आएका कोभिड–१९ सङ्क्रमित घरबाहिर निस्कने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिले टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका छन् । सङ्क्रमित पूर्णरूपमा होमआइसोलेशनमा नबसी घरबाहिर निस्कने, बजार सामान खरिदका लागि आउने, व्यापार गर्नेजस्ता गुनासो आएपछि स्थानीय प्रशासन र जनप्रतिनिधि टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका हुन् ।्
कोभिड–१९ का बिरामी बाहिर निस्कँदा झन् कोभिड सङ्क्रमण बढ्दै जाने अवस्थालाई मध्यनजर गर्दै प्रत्येक टोलटोलमा पुगी सङ्क्रमितलाई घरमै बस्न आग्रह गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । हेटौँडा उपमहानगरपालिकामा सङ्क्रमित धेरै छन् । हेटौँडाका हरेक टोलटोलमा कोरोना सङ्क्रमित बढेका छन् । पछिल्लोपटक हेटौँडाको वडा नं ४, ५, ९ र ११ का टोलटोलमा पुगेर सङ्क्रमितसहित स्थानीय बासिन्दालाई घरमै बस्न आग्रह गरिएको हो । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा गरे पनि हेटौँडाका टोलटोलमा र गाउँस्तरमा भने सङ्क्रमित धेरै रहेकाले चेतना जगाउन पनि अनुगमन गरिएको प्रमुख महतले बताए । स्थानीयस्तरमा टोल विकास संस्थालाई सक्रिय गराएर सङ्क्रमितलाई घरबाहिर ननिस्कनका लागि आग्रहसमेत गरिएको छ । –रासस