सिमकोट – देशको दुर्गम जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो आर्थिक वर्ष भित्र राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । उक्त कुराको जानकारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो अध्यादेशमार्फत् आ.व. २०७८।०७९ बजेट सार्वजनिक गर्ने क्रममा उल्लेख गरेका हुन् ।

नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने भनिएता पनि अहिलेसम्म जोडिन सकेको छैन ।

यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ। यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ ।