काठमाडौं – सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई चालु आर्थिक वर्षको आयकरमा छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आयबाट हुने आयकरमा छुट दिइने घोषणा गर्नु भएको हो । जसअनुसार वार्षिक २० लाखसम्मको कारोबार गर्ने उद्योगी व्यवसायीले ९० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, वार्षिक २० देखि ५० लाख रुपैयाँसम्मको कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट गरिने अर्थमन्त्री विष्णु पौडेलले बताउनु भएको छ ।
त्यस्तै कोरोनाबाट अति प्रभावित भएका होटल, ट्राभल ट्रेकिङ, यातायात, हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरिएको छ । साथै ती व्यवसायीको नोक्सानी १० वर्षसम्म सार्न मिल्ने व्यवस्था समेत गरिएको छ । आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ असोज मसान्तसम्म १० प्रतिशत जरिवाना बुझाएमा अरू मिनाहा गरिने व्यवस्था गरिएको छ ।