एजेन्सी – पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको सरकारी स्रोतले जानकारी दिएको छ । त्यहाँ भएका स्थानीय बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायता बढाएको बताइएको छ ।
यसअघि गत मे २२ का दिनमा  कङ्गोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो । ज्वालामुखी विस्फोटमा परेका सयौँ जना अझै हराइरहेको बताइएको छ ।  उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको थियो  । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका थिए । हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका थिए । करिब १ सय ७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका थिए । –सिन्ह्वा