काठमाडौं – सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १० दशमलव ५० प्रतिशतले बढी बजेट विनियोजन गरेको छ । गत वर्ष कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको सरकारले यस पटक १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट छुट्याएको हो । वार्षिक बजेटको आकार वृद्धि भई रहँदा चालु खर्च र पुँजीगत खर्च भने सरकारले गत वर्ष भन्दा पनि कम विनियोजन गरेको छ । गत वर्ष चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड बजेट छुट्याएको सरकारले यस पटक ६ खर्ब ७८ अर्ब ६१ करोड मात्र छुट्याएको छ । त्यस्तै, पूँजीगत खर्च तर्फ गत वर्ष ३ खर्ब ५२ अर्ब ९१ करोड छुट्याएको सरकारले यस पटक ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरेको छ । यो भनेको गत वर्षको तुलनामा १ दशमलब ६० ले कम हो । 
यता वित्तीय व्यवस्थापनमा गत वर्ष कुल बजेटको २३ दशमलव ९ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ७९ करोड छुट्याएको सरकारले यस वर्ष कुल बजेटको १२ दशमलव ६ प्रतिशतले हुन आउने २ खर्ब ७ अर्ब ९७ करोड छुट्याएको छ । कोभिड–१९ महामारीको उच्च सङ्क्रमणको यस बिषम परिस्थितिमा सरकारले स्वास्थ्य सुरक्षा, उपचार र कोभिडको निधानकै लागि अधिक बजेट विनियोजन गरेको देखिन्छ । जसका कारण यस पटक सरकारले स्वास्थ्य क्षेत्रमा मात्र १ खर्ब २२ अर्ब ७७ करोड छुट्याएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा कोभिड भ्याक्सिन खरिदमा अधिक बजेट व्यवस्थापन गरिएको छ । अस्पतालहरूको सेवा सुविधा विस्तार, भौतिक पूर्वाधार निर्माण तथा उपकरणहरुको खरिदमा समेत यस्तो बजेट विनियोजन गरिएको देखिन्छ । स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रित हुँदा चालु पूँजी खर्च बढ्न पुगेको देखिन्छ ।