काठमाडौं – सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजन बजेटमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ ।  यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभएको छ । 
आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गदा पनि नपुग हुने २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री पौडेलले बजेट भाषणमा बताउनुभएको हो । सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई विशेष प्राथमिकता दिइएको छ । बजेट वितरणमुखी देखिएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा हेर्नुहोस् :

क. निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।
ख. वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।
ग. खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।
घ. अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।
ङ. युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।
च. विद्यार्थीलाई निशुल्क सिमकार्ड । सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने ।
छ. सरकारी कर्मचारीलाई १० दिन भ्रमण विदा दिइने ।
ज. महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।
झ. प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।
ञ. गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।
ट. दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।
ठ. ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।
ड. उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।
ढ. दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।
ण. कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।
त. वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।
थ. सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।
द. पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।
ध. आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।
न. काठमाडौंमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।
प. २०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।
फ. पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।
ब. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ।
भ. साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट ।