काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले आज विश्वकप छनोटको पूर्वसन्ध्यामा इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपाली समय अनुसार राति १०ः१५ इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय खेलमैदानमा खेल्न लागेको हो ।


नेपाली टोलीका इराकी मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको खेलमा राम्रो प्रदर्शन गर्न जोड दिएका छन् । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नतिजाभन्दा पनि प्रदर्शन महत्वपूर्ण हुने मुख्य प्रशिक्षक अलमुताइरीले बताएका छन् । उनले युवा खेलाडीको लागि यो खेल सिकाइको अनुभव हुने पनि बताए । ‘मलाई आशा छ हाम्रो युवा टोलीका लागि यो सिकाइको अनुभव हुनेछ । नतिजा खोज्नुको सट्टा यो आफैंलाई मूल्याङ्कन गर्ने र भविष्यमा सुधार गर्न प्रयास गर्नु हो,’ मुख्य प्रशिक्षक अलमुताइरीले भने ।

२० वर्षपछि हुन लागेको यस खेल बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टिम र इराकी टिमबीचको खेल क्लोज डोरमा हुनेछ र दर्शकलाई प्रवेश निषेध गरिएको छ ।

गत चैतमा नेपाली राष्ट्रिय टिमको मुख्यप्रशिक्षक बनेपछि अलमुताइरीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा युवा टिमलाई उतारेका छन् । मुख्यप्रशिक्षक अलमुताइरीले नेपाली टिममा ६ नयाँ खेलाडीलाई समावेश गर्दै गत चैतमा थ्री नेशन्स कप जितेको नेपाली टिममा १३ जना खेलाडी परिवर्तन गरेका छन् ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले इराकविरुद्धको खेलका लागि टिमले राम्रो तयारी गरेको र यो खेलबाट आफ्नो टिमले सिक्ने अवसर पाएको बताएका छन् । कप्तान किरणले ‘हाम्रो लागि इराक विरुद्ध खेल्नु ठूलो अवसर हो । कुवेतमा हुने विश्वकप क्वालिफायरका लागि यो राम्रो अनुभव समेत हुनेछ । हामीले राम्रो ट्रेनिङ गरेका छौं र यसका लागि तयार छौं’ भनेका छन्

नेपालले इराकसँग आज खेल्न लागेको यो चौंथो खेल हो । यस अघि नेपालले इराकसँग तीन पटक खेलेको थियो भने तीनवटै खेलमा नेपाल पराजित भएको थियो । सन् १९८२ मा भएको पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो । सन् २००१ मा भएको विश्वकप छनोटको दुवै खेलमा नेपालले गोल गरेको थियो, तर जित इराककै भयो । पहिलो खेलमा नेपाल ९–१ ले र दोस्रो खेलमा नेपाल ४–२ ले पराजित भएको थियो । नेपालका लागि हरि खड्का र निराजन रायमाझी अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

विश्व फुटबलको छाता संगठन फिफा वरियतामा इराकभन्दा नेपाल १ सय ३ स्थान तल छ । सन् २००७ को एसिया कप जितेको इराक फिफाको पछिल्लो वरियतामा ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।

आज इराकसँग खेल्ने मैत्रीपूर्ण खेलपछि नेपाली टोली फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न कुवेत जानेछ । समूह ‘बी’ मा रहेको नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्ने तालिका तय भैसकेको छ । नेपालले यसअघि ५ खेल खेल्दा चाइना ताइपेइलाई हराउँदै एक खेल जितेर ३ अङ्क जोडेको छ भने बाँकी चार खेलमा भने पराजय भोगेको थियो ।

आजको मैत्रीपूर्ण खेलमा नेपाल मैदानमा सेतो जर्सीमा उत्रनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली राष्ट्रिय टिमले फुटबल इतिहासमा पहिलो पटक सेतो जर्सी लगाएर खेल्न लागेको हो । यसअघि नेपालले रातो र निलो रङको जर्सीमा खेल मैदामा उत्रने गरेको थियो । केटिएम सिटी राष्ट्रिय टिमको नयाँ किट्स प्रायोजक बनेपछि केटिएमले नेपालको लागि नयाँ रङको जर्सी तयार पारेको हो ।

हेड टु हेडमा इराक अगाडि रहेको एसियन च्याम्पियन इराक विश्वकप खेलिसकेको टिम हो । इराकले सन् २००७ मा एसियन कप जितेको थियो । नेपालले भने अहिलेसम्म एसियन कप खेल्न सकेको छैन ।