काठमाडौं – तीन वर्षको अवधिमा दोब्बर ऋण बढाएको सरकारले आगामी आर्थिक वर्षको ‘पपुलिस्ट’ बजेट निर्माणको लागि ५ खर्ब ३५ अर्बमाथिको सार्वजनिक ऋण उठाउँदै छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको लागि २ खर्ब ३० अर्ब रुपैयाँमाथिको आन्तरिक ऋण उठाउन सकिने र ३ खर्ब १० अर्ब बढीको बाह्य ऋण उठाउने गरी बजेट स्रोत व्यवस्थापन गरिएको छ । बजेट निर्माणमा खटिएका एक अधिकारीका अनुसार ‘यो वर्ष विगतको तुलनामा विश्व बैंक र आईएमएफको प्रतिवद्धता बढेको कारण बाह्य ऋणको हिस्सा केही बढ्ने अनुमान गरिएको छ,’। 
   चालू वर्षको बजेटमा सरकारले बाह्य ऋणबाट २ खर्ब ९९ अर्ब  ५० करोड जुटाउने जनाएको थियो भने आन्तरिक ऋण २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने भनेको थियो । यसमध्ये फागुन मसान्तसम्म ८५ अर्ब २ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ । यो लक्ष्यको २८ प्रतिशत मात्रै हो । लक्ष्यअनुसार ऋण उठाउन सफल भएमा बाह्य ऋण चालू वर्षमा नै २ खर्ब ११ अर्ब रुपैयाँ बढ्ने छ । सरकारले अधिकतम २५ अर्ब रुपैयाँ सावाँँ भुक्तानी ग¥यो भने पनि वैदेशिक ऋण मात्रै १ खर्ब ८६ अर्ब थपिने अनुमान गरिएको छ । त्यस्तै फागुन मसान्तसम्म १ खर्ब १३ अर्ब रुपैयाँ आन्तरकि ऋण उठाइसकेको सरकारले जेठ १३ गतेदेखि असार ३ सम्म थप १ खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ ।
   लक्ष्यअनुसारको बाह्य ऋण उठाएर लक्ष्यअनुसारकै सावाँँ भुक्तानी हुँदा आगामी असार मसान्तसम्म करिब २ खर्ब ९० अर्ब रुपैयाँ ऋण थपिने छ । जसले गर्दा असार मसान्तसम्म सार्वजनिक ऋणको भार १८ खर्ब ७० अर्बमाथि पुग्छ । तर, अर्थका अधिकारीहरू बाह्य ऋण लक्ष्यअनुसार उठाउन कठिन भएकाले १८ खर्ब हाराहारी पुग्ने बताउँछन् । आगामी वर्षको लागि सरकारले आन्तरिक र बाह्य गरी करिब ५ खर्ब ४० अर्बको ऋणको भार बोकाउने तयारी गरेको छ । चालु वर्षमा वैदेशिक अनुदान न्यून आए पनि आगामी वर्षको बजेटमा अनुदान बढ्ने अर्थ मन्त्रालयको अनुमान छ । अर्थका अधिकारीहरूका अनुसार करिब ६४ अर्ब रुपैयाँ अनुदान आउने प्रतिवद्धता छ । चालू वर्षमा ६० अर्बको अनुमान गरिएकोमा वैशाख १४ सम्म १० अर्ब ७ करोड रुपैयाँ मात्रै अनुदान प्राप्त भएको छ ।
    त्यस्तै सरकारले कारोबारको आधारमा बढ्ने राजस्व र ‘नेगेटिभ लिस्ट’केही करको दर बढाउदा करिब एक खर्ब बरारबको राजस्वको ‘स्पेस’ बढाउन सक्ने अनुमान गरेको छ चालू वर्षमा विभाज्य कोषबाहेक सरकारले ८ खर्ब ८९ अर्ब रुपैयाँको राजस्व उठ्ने लक्ष्य राखेकोमा यो करिब पूर्ति हुने अनुमान गरिएको छ । त्यस्तै चालू वर्षमा खर्च हुन नसेकको बजेट पनि आगामी वर्षको बजेटमा स्रोतका रुपमा राखिएको अर्थका अधिकारीहरूले बताएका छन् । विगत ३ वर्षमा भने चालू वर्ष खर्च हुन नसेको बजेट आउदो बजेटमा राखिएको थिएन । हालसम्म सरकारले ऋणसहित १० खर्ब ३६ अर्ब रुपैयाँको स्रोत चालू वर्षमा छुट्याए पनि खर्च भने ८ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको रहेको छ । स्रोत रकम विभाज्य कोषसमेतको हो । 
   यसरी हेर्दा चालू वर्षमा बचत बजेट हुने देखिन्छ । यस किसिमको स्रोतबाट आगामी वर्ष करिब सवा १६ खर्बमाथिको बजेट ल्याउने तयारी भएको अर्थका अधिकारीहरूको भनाइ रहेको छ । त्यस्तै कर्माचारीको तलब वृद्ध र अन्य सामाजिक सुरक्षाको रकम पनि बढाइने भएको छ । स्वास्थ्यकेन्द्रित भनिएको बजेटमा कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब बढीको बजेट दिइएको अर्थ स्रोतले बताएको छ । सरकारले निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रम, वृद्धभत्ता लगायतका क्षेत्रमा बजेट बढाउने तयारी गरेको छ ।