विश्वलाई नै आतङ्कित बनाएको कोभिड–१९ (कोरोना भाइरस) को उत्पतिबारे ९० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कडा आदेश दिनुभएको छ । गत वर्षदेखि नै अमेरिकाले कोभिड–१९ (कोरोना भाइरस) चीनबाट उत्पत्ति भएको आरोप लाग्दै आएको थियो ।यो आरोप मिथ्या भएको भन्दै चीनले विरोध गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिनु भएको थियो ।

९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई बाइडेनले आदेश दिएलगत्तै चीनको आक्रोशपूर्ण प्रतिक्रिया आएको हो । कोभिड–१९ (कोरोना भाइरस) चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ ।

अमेरिकाले ‘तथ्य वा वास्तविकतालाई ध्यान नदिने र उत्पत्तिबारेका गम्भीर वैज्ञानिक अध्ययनमा उसको शून्य चासो’ रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको प्रतिक्रिया आएको छ । मन्त्रालयका प्रवक्ताले भ्रामक सूचना दिने मामिलामा अमेरिकी गुप्तचर निकायको अँध्यारो विगत रहेको पनि उल्लेख गरेका छन् ।

कोभिड–१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि चीनले जनाएको छ । कोभिड–१९ सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर २२ तारिखको दिन वुहान शहरमा देखा परेको थियो । त्यसपछि कोभिड–१९ डँडेलो झै सल्किएर विश्वमा महामारीको रुपमा पैmलिएको छ । यो महामारीको नियन्त्रण हुन सकेको छैन ।