काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।
केही समय अघि पनि काठमाडौंको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिकाएका स्थानीय कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो ।
पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार कीर्तिपुर र चन्द्रागिरी नगरपालिको ती वडाहरुमा व्यवसायिक रुपमा पालिएका टर्कीको रियल टाइम पीसीआर विधिबाट नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा जेठ १० गते बर्डफ्लु पुष्टि भएको हो । बर्डफ्लु देखिएको उक्त स्थानमा सङ्क्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घर पालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ ।
विभागले यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, पक्षीपालक कृषकहरुले फार्म परिसरमा नियमितरूपमा निःसङ्क्रमण गर्न, तथा सफाईमा ध्यान दिन, घरपालुवा पक्षीलाई जङगली पक्षीहरुको सम्पर्कमा आउन नदिन, हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्री स्थलमा अस्वाभाविकरूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल जानकारी गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ । पशुपक्षी मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ओसारपसार गर्न आग्रह गरेको छ ।