धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको कोरोना भाइरसको सङ्क्रमणबाट काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।
निधन भएका पूर्व प्रदेश प्रमुख मल्लका भतिज रुपक मल्लका अनुसार ‘उहाँलाई एक हप्ता पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको थियो । उहाँका काठमाडौंमा उपचारकै क्रममा हिजो राति ११ बजे निधन भएको हो ।’ लामो समयदेखि निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आज बिहीबार अन्त्येष्टि गरिने भतिज रुपकले जानकारी दिनुभएको छ ।
तात्कालिन राष्ट्रिय पञ्चायतका सदस्य समेत रहनुभएका पूर्व प्रदेश प्रमुख मल्ल पछि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गर्नु भएको थियो । उहाँलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो ।
तात्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ सालको कार्तिकमा सबै सातै प्रदेशका प्रमुखहरुलाई हटाएर तात्कालिन नेकपा निकट व्यक्तिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । जसमा एमालेबाट ४ र माओवादी केन्द्रका ३ जना प्रदेश प्रमुख नियुक्त गरिएकामध्ये माओवादी केन्द्रको कोटाबाट नियुक्त प्रदेश दुईका तिलक परियार, गण्डकी प्रदेशका अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका सर्मिला त्रिपाठीलाई प्रधानमन्त्री ओलीले केही समय अघि पदच्युत गरी एमाले निकटलाई प्रदेश प्रमुख बनाउनु भएको थियो ।