सरकारसहित राजनीतिक दलहरुले कोभिडको दोस्रो लहर नियन्त्रण र त्यसपछिको आर्थिक स्थिति सुधारका लागि चीनको सहयोग अत्यावश्यक भएको बताएका छन् । कम्युनिस्ट पार्टी चाइनाले नेपालको राजनीतिक दलहरुसँग बुधबार गरेको  भर्चुल छलफलका क्रममा सत्तारुढ एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलका नेताहरुले कोरोनासँगै नेपालको आर्थिक स्थिति सुधारका निम्ति चीनको सहयोग अपरिहार्य रहेको बताएका हुन् । छलफलमा बोल्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई आवश्यक खोप उपलब्ध गराइ सहयोग गर्न आग्रह गर्नु भएको छ  । उहाँले भन्नुभयो, ’सबै सुरक्षित नभइकन कोही पनि सुरक्षित हुँदैन । त्यसैले सबैलाई सुरक्षित राख्ने उपाय भनेको खोप हो । चीनले नेपाललाई थप खोप सहयोग गर्नुपर्ने आवश्यकता छ,’ ।
यस्तै, उहाँले स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै कोरोना नियन्त्रणमा सहयोग गरेको चीनले नेपालको आर्थिक अवस्थाको सुधारको निम्ति पनि सहयोगको अपेक्षा गरेको बताउनुभएको छ  । ’कोरोनाकाल पछिको संभावित आर्थिक सङ्कटबाट नेपाललाई पार लगाउन समेत चीनको सहयोग महत्वपूर्ण र अपरिहार्य छ । नेपालको समृद्धिको निम्ति चीनको सदाझैँ साथ रहने विश्वास नेपाल सरकारको छ,’। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अक्सिजन र स्वास्थ्य सामाग्री अभाव हुन नदिन चीनको सहयोगप्रति धन्यवाद दिँदै भविष्यमा पनि यस्ता सङ्कटबाट नेपाललाई पार लगाउन चीनले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।’नेपाली जनताको जीवनरक्षाका निम्ति चीनको मानवीय सहयोगप्रति हामी धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । निकट भविष्यमा पनि यस्तै अभाव हुनसक्ने खतरा कायमै भएकाले आवश्यक सहयोगको अपेक्षा हामी राख्छौँ,’ उहाँले भन्नुभएको छ ।
चीनले नेपालका जनतालाई खोप उपलब्ध गराउनका लागि थप सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । ’नेपाली जनतालाई महामारीबाट बचाउनका निम्ति खोपको जरुरी छ । चीनले बढी भन्दा बढी खोप नेपाललाई उपलब्ध गराउन म आग्रह गर्दछु,’ । नेपालको आर्थिक सुधारको निम्ति चीनको सहयोग महत्वपूर्ण रहने प्रचण्डको भनाइ छ । छलफलमा बोल्दै नेपाली काङ्ग्रेसका नेता नारायण खड्काले नेपालको सङ्कटमा साथ दिएकोप्रति धन्यवाद प्रकट गर्नुभयो । ’चीनको मानवीय सहयोगका लागि नेपाली काङ्ग्रेस चीन सरकारलाई धन्यवाद दिन चाहन्छ । उहाँका अनुसार– तेस्रो लहरको अनुमान भइरहेको समयमा नेपाललाई स्वास्थ्य सङ्कटबाट बचाउन चीनको आवश्यकता अपरिहार्य भएकाले खोप, अक्सिजन लगायतका सामाग्रीमा थप सहयोगको अपेक्षा हामीले राखेका छौँ,’ । यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको स्वास्थ्य सङ्कटमा चीनको सहयोगले दुई राष्ट्रबीचको सम्बन्धलाई झन् मजबुद बनाएको बताउनुभयो । उहाँले भन्नुभएको छ– ’नेपालमा अझै पनि भेन्टिलेटर अक्सिजन र खोपको कमी भएकाले चीनको थप सहयोगको आवश्यकता छ,’।