काठमाडौं – नेपाली लोक गीत–सङ्गीत क्षेत्रमा सु मधुर स्वरका धनी गायक रामकृष्ण ढकालले कोरोना सङ्क्रमित नेपालीको उपचारका लागि १८ लाख रुपैयाँ सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका गायक ढकालले त्यहाँ उठाएको उक्त रकम कोरोना पिडितका लागि भन्दै महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई दिएका हुन् । गायक ढकालले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सहयोगको रकम पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको जानकारी दिएका छन् । केही अगाडि एक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका ढकालले सहयोगको रकम अमेरिकामा रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुबाट जुटाएका हुन् ।
नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने साङ्गीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली सङ्गीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो’ ढकालले अगाडि थपेका छन, ‘उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामा रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ । मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।  यही क्रममा पहिलो चरणमा जम्मा भएको सहयोग पठाएको छु ।’