काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा खासै प्रगति नभए पछि जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको आज अपरान्ह बसेको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको छ । उक्त बैठकले सो अवधिमा किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न समेत प्रतिवन्ध लगाउने समेत निर्णय गरेको छ । तर तरकारी, मासु, ग्याँसलगायत पसल बिहान ९ बजेसम्म खुल्ने छन् । यसअघि किराना पसललगायत अत्यावश्यक सामान खरिद पर्ने पसलहरु बिहान १० बजेसम्म खोल्न दिएको थियो ।

ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार निषेधाज्ञालाई थप कडा बनाइएको भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले ‘मानिसहरुलाई सजिलो होस् भनेर किराना पसल तथा डिपार्टमेन्ट स्टोरबाट हुने किनमेलका लागि जेठ १३ गतेसम्मको समय दिइएको हो’, उनले भने। अनावश्यक बाहिर हिँडडुल गर्नेलाई ठाउँको ठाउँ २ सय रुपैयाँ जरिवाना, मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना, आफु खुसी सवारी लिएर बाहिर निस्कने मोटरसाइकलको हकमा २ हजार र त्यसभन्दा बाहेकका अन्य सवारी साधनको हकमा ५ हजार रुपैयाँ जरिवाना हुने’ बताउनु भएको छ ।