मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई विशेष ध्यान दिंदै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया आरम्भ गरेको हो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले काठमाडौंको टोखा, ललितपुरको बज्रबाराही, चितवनको बकुलहर अस्पतालमा दोलखाको चरिकोट, सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट स्थित जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतका अनुसार एक महिनाभित्र अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरि खरिद प्रक्रिया अघि बढाइसकेको छ । एक साताको समय सीमा तोकेर अक्सिजन प्लान्ट राख्न प्रदेश सरकारले टेण्डर आह्वान गरेसँगै अक्सिजन प्लान्ट राख्ने तयारी थालेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट सञ्चालन रहेको र बाँकी अस्पतालमा स्थापना गरेर अस्पतालहरुलाई सुबिधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको हो । मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन पनि राख्ने जनाएकोे छ ।