बुटवल– माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । गम्भीर घाइते भएका पाण्डेको सोमबार राती उपचारकै क्रममा निधन भएको हो । पाँच दिनअघि अर्थात् गत बुधबार पाण्डेमाथि राती गोली प्रहार भएको थियो ।

जिल्ला नेता पाण्डेको स्वास्थ्य अवस्था विग्रँदै गए पछि हिजो सोमबार थप उपचारका काठमाडौं लगेको केही समयमै निधन भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत् त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको थियो ।

पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । नेता पाण्डेलाई गोली प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ । व्यक्तिगत रिसइवीका कारण मृतक पाण्डे माथि आक्रमण गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् ।