बागमती प्रदेश – कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । मन्त्रालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले कार्यालयमा प्रत्यक्ष उपस्थित भएर गरिने सम्पूर्ण कार्य हालका लागि रोक लगाइएको र कर्मचारीहरुलाई निवासबाटै कार्य सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । 
कोरोना सङ्क्रमणको जोखिमका कारण कार्यालय सञ्चालनमा समस्या आएकाले मन्त्रालयले आजबाट सर्वसाधारण र कर्मचारीलाई आवतजावतमा रोक लगाएको मन्त्रालयका सूचना अधिकारीले जानकारी दिनुभएको छ । मन्त्रालयमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा, सचिव मतिना वैद्य लगायत कर्मचारीहरुले आ–आफ्नो निवासबाट कार्यसम्पादन गरिरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सङ्क्रमणको जोखिमका कारण सोमबार मन्त्रालयमा २÷३ जना मात्र कर्मचारीहरु उपस्थित भएर कार्य सञ्चालन गरिरहेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढेकाले कन्ट्रयाक ट्रेसिङ गरी स्वाब सङ्कलन तथा परिक्षणको दायरालाई बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा कोभिड सङ्क्रमण देखिएपछि सोही भवनको पहिलो तल्लामा रहेको भौतिक पूर्वाधार मन्त्रालय र भुईँ तल्लामा रहेको बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमा पनि प्रत्यक्ष प्रभाव परेको मन्त्रालयले जनाएको छ ।