बागमती प्रदेश – बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौं अधिवेशन आह्वान गर्नु भएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन आह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौं अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
आठौं अधिवेशनको पहिलो दिनमै सरकारले प्रि बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ । संविधानमा व्यवस्था भएअनुरूप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ । असार १ गते प्रस्तुत हुने बजेट निर्माणका लागि सरकार लागि परेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । –रासस