मकवानपुर– बागमती प्रदेशसभाको नेकपा (एमाले) संसदीय बोर्डले बैशाख ६ गते राष्ट्रियसभा सदस्यको लागि भएको उप–चुनावको विषयलाई लिएर आफ्ना प्रदेशसभा सदस्यलाई सोधिएको स्पष्टीकरण पेश गरेका छन् । राष्ट्रियसभाका लागि बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्को उप–चुनावमा एमालेका उम्मेदवार निर्वतमान गृहमन्त्री नवप्रवेशी एमाले नेता रामबहादुर थापा ‘बादल’ लाई मत नदिइ स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटालाई मत दिएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ट रुपमा स्पष्टीकरण बुझाएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बताउनु भएको छ । बोर्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतृ अष्टलक्ष्मी शाक्य, अरुणप्रसाद नेपाल, कृष्णप्रसाद खनाल, पार्वती सिलवालसहित १४ जना प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोधिएकोे थियो । नेत्री शाक्यसहित १४ जनाले बुझाएको स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताउनु भएको छ । मुख्य सचेतक निरौलोका अनुसार ‘उहाँहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ ।’

बोर्डको शनिबारको बैठकले नेतृ शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, मीना ज्ञवाली, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, शान्तिराम पौडेल, र बसन्तप्रसाद मानन्धरलाई स्पष्टीकरण सोेधेको थियो ।