काठमाडौं –  मुलुक निर्वाचनमा जाने भएपछि त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी बैङ्क तथा वित्तीय संस्थाहरुको समूहमा बढोत्तरी  देखिएको छ । नेप्से परिसूचक ३२ दशमलव ८१ अङ्कले बढेर २ हजार ८ सय २० बिन्दुमा पुगेको छ ।  आइतबार नेप्से परिसूचकमा चमक आएको छ । बजार १ दशमलव १८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स समूहका सूचक बढेपछि बजारमा उत्साह थपिएको हो । 
    २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयरको  ११ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अगाडी  छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल लाइफ इन्स्योरेन्स र ज्योति विकास बैङ्क परेका छन । १३ मध्ये १० समूहको सूचकमा हरियाली देखिएको छ । करिब १६ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।