काठमाडौं – राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई कसैले फकाएको र कसैले थर्काएको बताउनु भएको छ । केहीको आवाजको रेकर्ड नै राखेको बताउँदै उहाँले आवश्यक परेमा नाम पनि भन्ने जानकारी दिनुभएको छ । राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी, एमाले (माधव नेपाल समूह) र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार बन्नु भएको उहाँले एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री थापालाई १ हजार ७४ मतले पराजित गर्नु भएको थियो ।
   राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा लेख्नु भएको छ– ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।’ आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो तर उहाँले आफू अडिग रहेको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ, ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नुपर्दछ ।’