चीनमा १ सय किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएकामध्ये थप पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगीहरू भने सम्पर्कमा रहेको अधिकारीहरूले जनाएका छन । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १ सय किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्कासि मौसम खराब भएपछि कठ्याङ्ग्रिएर प्रतियोगीहरूको मृत्यु भएको जनाइएको छ । पर्यटकीय क्षेत्रको रूपमा चर्चित बैयिन शहरको जङताई भन्ने ठाउँमा स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । 
    मौसम अचानक गडबड भएर प्रतियोगीहरूलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरू परिचालन गरिएको थियो । उनीहरूले नै मृतक र घाइतेहरूलाई उद्धार गरेका थिए । घटनामा परी केही प्रतियोगिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । प्रतियोगितामा १ सय ७२ जना प्रतियोगी सहभागी थिए । उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ । – रासस