मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलप्रति एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य तथा सांसद् अष्टलक्ष्मी शाक्यले आक्रोश व्यक्त गर्नुभएको छ । नेता शाक्यले हिजो आफु निकट १४ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेपछि आक्रोश व्यक्त गर्नु भएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले आफुहरुलाई अनैतिक रुपमा अनावश्यक स्पष्टीकरण सोधेको बागमती प्रदेश संसदीय बोर्डकी सदस्य अष्टलक्ष्मी शाक्यले बताउनु भएको छ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा लागेकै कारण आफूहरुलाई स्पष्टीकरण सोधिएको आरोप लगाउनु भएको छ । बैशाख ६ गते बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद्को उप–निर्वाचनमा पार्टीका अधिकारी उम्मेदवार निवर्तमान् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई मत नदिएको आरोप लगाएर अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, कृष्ण खनाल, पार्वती सिलवालसहित बागमती प्रदेशका १४ जना सांसदले संसदीय बोर्डले स्पष्टीकरण सोधेको थियो ।

नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्यसमेत रहेकी शाक्यले स्पष्टीकरण सोधिएका सबै सांसद र पार्टी नेतृत्वसँग आन्तरिक छलफल गरेर मात्र स्पष्टीकरण पेश गर्ने नवसञ्चार अनलाइनलाई बताउनु भयो । ‘हामीहरु पार्टी एकता जोगाउनकै लागि उहाँहरूले गरेका काम र व्यवहारप्रति नरम हुँदै जाँदा उल्र्टै हामीलाई पेल्दै जानु भएको छ, यो कसरी पार्टी एकताको हितमा भयो ? मुख्यमन्त्रीले हामीलाई हेपेर आरोपमाथि आरोप लगाउने, हामीले सबै सहनु पर्ने ? यही हो विधि ?’ भन्दै सांसद शाक्यले ‘मुख्यमन्त्री पौडेलले बादललाई नै भोट दिएको प्रमाण के छ ?’ गोप्य मतदान भएकाले कसले कहाँ मत दियो भनेर सोध्न मिल्ने कुरा होइन’ भन्ने प्रतिक्रिया व्यक्त गर्नुभयो ।

नेता शाक्यले मुख्यमन्त्री पौडेलले भने झैँ रामबहादुर थापा बादललाई भोट नहाल्ने माधव नेपाल समूहकै १४ जना सांसद हुन् भन्ने प्रमाण के छ भन्ने प्रश्नसमेत गर्नु भयो । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा गोप्य मतदान भएकोले यस विषयलाई मुद्दा बनाएर स्पष्टिकरण सोध्नु आफैंमा अनैतिक र अनुशासनहीन काम भएको नेता शाक्यको बुझाइ छ ।

एमाले बागमती प्रदेश संसदीय बोर्डको हिजो शनिबार हेटौंडामा बसेकोे बैठकले पार्टी हित विपरित काम गरेको र राष्ट्रियसभा सदस्य पदको उप–निर्वाचनमा पार्टीको उम्मेदवारलाई मतदान नगरेको भन्दै १४ जना सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधेको थियो ।