काठमाडौं –कोभिड–१९ को नयाँ भेरियन्टले गाँजिरहेका बेला स्वीजरल्याण्ड सरकारले नेपाललाई कोरोना सङ्कटसँग जुध्न ९४ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ । स्वीजरल्याण्डबाट स्वास्थ्य सामग्रीसहितको कार्गो विमान शनिबार काठमाडौंमा अवतरण गरेको छ । स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको छ ।  स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख ¥यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन ९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।
नेपाल सरकारलाई सामग्री हस्तान्तरण गर्दै राजदूत क्यापेलरले,’स्वीजरल्याण्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यबद्धतामा उभिन्छ । यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पु¥याउने बताउनुभएको छ ।’